You are here

नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको थियो । मन्त्रालय गठनसँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । नेपाल सरकारको तेह्रौं योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार र आय आर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तीकरण गर्ने रणनीति तय गरिएको छ । यसैअनुसार युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकुद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रमहरु
कार्यान्वयन गर्दै आएका छन्।
 
युवा विकास र परिचालनका लागि मन्त्रालय मातहत रहने गरी राष्ट्रिय युवा परिषद्गठन गरी युवा कार्यक्रम संयोजन गर्न गराउन युवा परिषद् ऐन २०७२ जारी भइसकेको छ । युवा परिषद् ऐन जारी भएपछि राष्ट्रिय युवा परिषद् गठनको वैधानिक बाटो खुलेको छ र परिषद्को स्थापनासँगै युवा विकास र परिचालनका लागि साङ्गठनिक संरचना निर्माण हुनेछ । राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ । तिनै विषयहरुलाई प्राथमिकता निर्धारण गरेर कार्यान्वयनका लागि युवा विकासको स्पष्ट दृष्टिकोण, रणनीतिक कार्ययोजना र कार्यक्रम तय गर्नु अति आवश्यक छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरू, युवा विकाससँग सम्बन्धित संघ-संस्थाहरू र अन्तर्राष्ट्रिय दातृ संस्थालाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी राष्ट्रिय युवा परिषदमार्फत राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘युथ भिजन – २०२५’ सहितको दश बर्षे रणनीतिक योजना युवा तथा खेलकुद मन्त्रालयले ल्याएको हो ।