You are here

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरूदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ । 
 
युवामा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाका आधारभूत आवश्यकताहरूको परिपूर्ति; समानता एवं समतामूलक वितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता; वैयक्तिक स्वतन्त्रता; विश्वव्यापी मानवाधिकारको सिद्धान्त; लोकतान्त्रिक मूल्य मान्यता; विश्वशान्ति; सह–अस्तित्व; जाति, भाषा, संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवद्र्धन हेतु राष्ट्रिय युवा नीति, २०६६ जारी गरिएको थियो । सोही नीतिले निर्देश गरे बमोजिम पाँच वर्षपछि पुनरावलोकन गरी युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०७२ तर्जुमा गरेको छ ।