You are here

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धता अनुरुप संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले १,२०० व्यक्तिगत सुरक्षा कवच (पिपिइ) किट्सहरु आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको थियो । तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पिपिइ किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् । 

पिपिइ किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल भन्नुभयो, “यी किट्सहरु सही सयममा आइपुगेका छन् ।” यसले कोभिड–१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद दिनुभयो । 

“नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ,” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो । “नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।”

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पिपिइ किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स)  प्रदान गरिरहेको छ । यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । 

“अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा हुन्छन् । यसैले एकद्धार संकट व्यवस्थापन केन्द्र, सुरक्षित आवास र हेल्पलाइनबाट लैङ्गिक हिंसा पीडितलाई जीवनरक्षाका लागि आवश्यक पर्ने सहयोग र हेरचाहलाई थप सुदृढ बनाउनुपर्छ,” यूएनएफपीए प्रतिनिधिले भन्नुभयो ।

++++++++
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषबारे
यूएनएफपीए संयुक्त राष्ट्रसंघको एउटा त्यस्तो निकाय हो जसले त्यस्तो विश्वको परिकल्पना गर्दछ जहाँ प्रत्येक गर्भधारण इच्छित होस्, प्रत्येक शिशुको जन्म सुरक्षित होस् र प्रत्येक युवाको संभाव्यताहरू पूरा हुन् ।  

थप जानकारीका लागि सम्पर्क गर्नुहोस् ः
सन्तोष क्षेत्री, यूएनएफपीए नेपाल, ९८०१०५६०२८, schhetri@unfpa.org