Go Back Go Back
Go Back Go Back
Go Back Go Back

यूएनएफपिएद्वारा नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

यूएनएफपिएद्वारा नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

Press Release

यूएनएफपिएद्वारा नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

calendar_today 02 August 2021

१८ साउन २०७८

काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज रु १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मुल्य बराबरको ८०० थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गर्नुभयो ।
नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो ।
कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो । महामारीले देशभरिका स्वास्थ्य संस्थाहरुमाथि निकै ठूलो दबाब सिर्जना गरेको छ । “हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ । चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ”, डा टिंकरीले भन्नुभयो । “हाम्रो सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको हामी कदर गर्दछौं ।”
महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुमाथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजनसहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्त गर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।

यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गर्दे

“कोभिड–१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरुमाथि यो अप्रत्यासित महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नुपर्छ,” यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो ।
प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ । “यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई  धन्यवाद,” बाकीले भन्नुभयो ।
रोकथाम गर्न सकिने मातृमृत्युको अन्त्य, परिवार नियोजन सेवाको अपरिपूर्त मागको अन्त्य र लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको अन्त्य गरी तीन रूपान्तरणकारी लक्ष्यहरुतर्फको प्रगतिमा महामारीको प्रभावलाई न्यून गर्नका लागी संयुक्त राष्ट्रसङ्घका अन्य निकायहरु र विकास साझेदारहरुको साथमा यूएनएफपिएले सरकारको कोभिड–१९ प्रतिकार्य योजनाहरुका लागि उपलब्ध गराइरहेको सहयोगलाई निरन्तरता दिनेछ । 
यसअघि पनि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७,२४८ थान पिपिई कीट उपलब्ध गराएको थियो । त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवासगृहहरु मार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड–१९ र मनसुन आपतकालीन प्रतिकार्य स्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३४२,९३० थान सेनेटरी प्याड वितरण गरेको छ ।
  
++++++++

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषबारे
यूएनएफपिए संयुक्त राष्ट्रसंघको एउटा त्यस्तो निकाय हो जसले त्यस्तो विश्वको परिकल्पना गर्दछ जहाँ प्रत्येक गर्भधारण इच्छित होस्, प्रत्येक शिशुको जन्म सुरक्षित होस् र प्रत्येक युवाको संभाव्यताहरू पूरा हुन् ।  

थप जानकारीका लागि :
सन्तोष क्षेत्री, पैरवी तथा संचार अधिकृत, यूएनएफपिए नेपाल, ९८०१०५६०२८
 

Related Content