You are here

नैरोवी शिखर सम्मेलनमा नेपाल सरकार प्रतिनिधीमण्डल प्रमुख एंव
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाले दिनुभएको मन्तव्य
कार्तिक २७, २०७६

 

आदरणीय सभापति ज्यू, सम्मानित तथा विशिष्ट व्यक्तित्वहरू

मेरो देश नेपालको तर्फबाट यस जनसङ्ख्या तथा विकास सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस नैरोवी शिखर सम्मेलनको भव्य समारोहमा उपस्थित भई सबै प्रतिनिधी ज्यूहरूलाई न्यानो अभिवादन टक्र्याउन चाहन्छु ।

यस नैरोवी शिखर सम्मेलन (कार्तिक २६-२८)का आयोजक केन्या र डेनमार्क सरकार तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)लाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

नेपाल आइसिपिडी भावना तथा मर्मको बलियो समर्थकको रूपमा रहिआएको छ र हामीले यसलाई सन् १९९४ को कायरो सम्मेलन देखी नै आत्मसाथ गर्दै आएका छौँ । महिला अधिकार तथा दिगो विकास र प्रजनन अधिकारमा केन्द्रित जस्ता आइसिपिडीका भावनालाई महत्वका साथ अघि बढाएका छौँ ।

नेपालले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ऐन पारित गरेको कुरा यहाँहरू समक्ष गर्व तथा सहर्षका साथ व्यक्त गर्न चाहन्छु, जुन हाम्रो नयाँ संविधानमा समेत अभिव्यक्त भएको छ । यस ऐनले सबै नागरिकहरू, जात, धर्म, लिङ्ग, उमेर, अपाङ्गता, लैङ्गिक अभिमुखीकरण तथा लैङ्गिक परिचयको आधारमा कुनै प्रकारको विभेद नहुने कुराको सुनिश्चितता गर्ने उद्देश्य राखेको छ । कायरो सम्मेलन पश्चात नेपालले गरेका उपलब्धीहरूको सन्दर्भमा नेपाल गर्व गर्दछ र सन् २०३० सम्ममा दिगो विकासका लक्षयहरू हासिल गर्न आइसिपिडीको कार्ययोजनालाई उच्च गतिका साथ कार्यान्वयन गर्नु पर्ने आवश्यकतालाई महसुस गर्दछ ।

नेपाल सरकारको तर्फबाट यस नैरोवी शिखर सम्मेलनका लागि नेपालको पूर्ण र निशर्त समर्थन व्यक्त गर्न पाउँदा म अन्यन्तै खुशी भएको छु र पुन:दोहोर्याउन चाहन्छु कि विश्वव्यापी रूपमा नेपालले जनाएको प्रतिबद्धता हाम्रो राष्ट्रिय प्राथमिकता र प्रतिबद्धता अनुरूप नै रहेको छ । साथै यसलाई थप सुदृढ गर्न सहयोग हुने विश्वास राखिएको छ । हाम्रो प्राथमिकता र प्रतिबद्धताहरू निम्न कुराहरूमा केन्द्रित हुनेछन् :

  • तीन शुन्य हासिल गर्नः महिला र बालबालिका विरूद्धको हिंसा र बाल तथा जबरजस्ती बिवाहको अन्त्य, रोकथाम गर्न सकिने मातृमृत्युको अन्त्य र परिवार नियोजनको अपरिपुर्त मागको अन्त्य ।
  • किशोरकिशोरी मैत्री सेवा र बृहत यौनिकता शिक्षाको पहुँचमा वृद्धि गर्दै युवावर्गले आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग गर्न सक्ने निश्चित गरी युवा वर्गको सुस्वास्थ्य र समृद्धिका लागि लगानी गरिने
  • यौन र प्रजनन स्वास्थ्य सेवा, लैङ्गिक हिंसाको रोकथाम र प्रतिकार्य सहित विपद प्रभावित व्यक्तिहरूको आधारभूत मानवीय आवश्यकताहरू निश्चित गरी मानवीयताको दृष्टिकोणले सम्वोधन गरिने
  • वित्तीय नीति, औजार र संरचनाहरूलाई सान्दर्भिक बनाई आईसीपिडी र दिगो विकास लक्ष्यको पूर्ण कार्यान्वयन गर्ने

२०३० सम्ममा दिगो विकास लक्ष्यलाई पूर्णता दिन म अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय साझेदार निकायहरूलाई प्रजनन अधिकारको समर्थन गर्न र आइसिपिडीको मर्मलाई नभुली कसैलाई पछाडी नछुटाई हातेमालो गरी अघि बढ्न अनुरोध गर्दछु ।

धन्यवाद