You are here

तौलिहवा  (७ कार्तिक, २०७४): जनचेतना जगाउदै बालविवाह र महिला विरुद्ध हिंसा अन्त्यका लागि ठोस कार्य सञ्चालन गर्न किशोरीहरुबीच मैत्रीपूर्ण जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजबाट कपिलवस्तुको तौलिहवामा शुरु भएको छ ।  
 
‘बलिङ गरौं, व्याटिङ गरौं ः बालविवाह, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ आयोजित उक्त क्रिकेट प्रतियोगिताको आयोजना कपिलवस्तु क्रिकेट संघले जिल्ला समन्वय समिति, महिला तथा बालबालिका कार्यालय, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) तथा नेपाल परिवार नियोजन संघ कपिलवस्तुसँगको सहकार्यमा गरिएको हो । 
 
नवनिर्वाचित जनप्रतिनिधीहरु, सरकारी पदाधिकारीहरु, खेलाडी, किशोरकिशोरीलगायत युवा र अन्य स्थानीय, नागरिक समाज तथा विकास साझेदार संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट खेलाडी सावित्रा जिसीको बलिङमा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण प्रसाद खनालले व्याटिङ गरि भएको थियो । 
 
बालविवाह दर उच्च भएका नगर तथा गाँउपालिकाहरुमा सञ्चलित किशोरी विकास कार्यक्रममा संलग्लन किशोरी समुहका ५६ सदस्यहरुलाई चार समुहमा विभाजन गरि शुरुवात भएको खेलमा दुई उपविजेता समुहबीच कार्तिक ९ गते तौलिहवास्थित खुल्ला मैदनामा फाइनल प्रतियोगिता हुनेछ । 
 
‘बालविवाह तथा महिला विरुद्ध हिंसा अन्त्यगर्ने जस्तो महत्वपूर्ण कार्यमा क्रिकेटलगायत विभिन्न माध्यमहरु मार्फत किशोरीसहित सम्पूर्ण सरोकारवाललाई प्रोत्सहान गर्न कपिलवस्तु जिल्लाक्रिकेट संघले पहिलो पटक यूएनएफपीएसँग यो साझेदारी गरिएको हो’ कपिलवस्तु जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे भन्नुहुन्छ ।  
 
प्रतियोगिमा प्रथम तथा द्धितिय हुने समुहलाई पदक तथा प्रमाणपत्र र तेश्रो तथा चौथो हुने समुहलाई सान्त्वना पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितको फाइनलमा करिब १,५०० दर्शक हुने अनुमान गरिएको छ । 
 
कपिलवस्तुका किशोरीहरुले प्रचुर मात्रामा लैगङ्कि विभेद तथा कलिलो उमेरमै विवाह हुने र आमा बन्नुपर्ने बाध्यता जस्ता अवस्थाबाट गुज्रनु परेको छ । पछिल्लो जनगणना अनुसार कपिलवस्तुमा १० देखि १९ वर्षका ६२% किशोरीहरुको बालविवाह हुने गरेको छ । जबकि राष्ट्रिय औसत दर ४१% रहेको छ । बालविवाह मानव अधिकारको उलघंन हो जसले किशोरीहरुलाई बाल्यवस्थाको सुखानुभुति गर्नबाट बञ्चित गराउँछ । कलिलो उमेरमा विवाह हुदा किशोरीहरुले विद्यालय छोडनु पर्ने, छिट्टै गर्भधारण गर्नुपर्ने तथा धेरै जसो हिंसा र शोषणमा परेका छन् ।
 
 
थप जानकारीका लागि : प्रकाश गैरे, अध्यक्ष, कपिलवस्तु जिल्ला क्रिकेट संघ, ९८४७२१२१५५