Go Back Go Back
Go Back Go Back
Go Back Go Back

हरेक व्यक्तिको गणना भएको सुनिश्चित गर्न यूएनएफपिए र बेलायत सरकारबाट केन्द्रिय तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण

हरेक व्यक्तिको गणना भएको सुनिश्चित गर्न यूएनएफपिए र बेलायत सरकारबाट केन्द्रिय तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण

Press Release

हरेक व्यक्तिको गणना भएको सुनिश्चित गर्न यूएनएफपिए र बेलायत सरकारबाट केन्द्रिय तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण

calendar_today 11 November 2020

२६ कार्तिक २०७७

प्रेस विज्ञप्ति 
  

हरेक व्यक्तिको गणना भएको सुनिश्चित गर्न यूएनएफपिए र बेलायत सरकारबाट केन्द्रिय तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण 

काठमाडौं : नयाँ संविधान र सङ्घीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा यही २०७८ जेठ–असारमा हुन गइरहेको १२औं राष्ट्रिय जनगणनाको पूर्वतयारीमा जुटेको केन्द्रिय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूुएनएफपिए)ले आज सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ । 

कुल रु ७ करोड २० लाख (६ लाख ९ हजार ८७३ अमेरिकी डलर) बराबर मुल्यको सो सूचना प्रविधि उपकरणमा पावर ब्यांङ्क र आवश्यक सहायक सामग्रीसहित २,२५० वटा ट्याबलेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्क स्टेसन, एउटा सर्भर, हाइ रिजोल्यूसनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स्हरु समावेश रेहेको छ, जसको खरिद यूएनएफपिएले बेलायत सरकार (यूकेऐड)को अनुदानमा गरेको हो । यसले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्याङ्क उत्पादन गर्न सक्षम बनाउनेछ । 

विश्वव्यापी कोभिड–१९ महामारीले गर्दा जनसङ्ख्यासम्बन्धी उच्च गुणस्तर र भरपर्दो तथ्याङ्कको महत्व बढ्न गएको छ, र कसैलाई पनि पछाडि नछाडिने दृढ प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्यहरु हासिल गर्नेतर्फ नेपालले गरिरहेको प्रगति मापन गर्न पनि यो अत्यावश्यक छ । 

केही खास गणना क्षेत्रमा ट्याबलेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रिय तथ्याङ्क विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाइका आधारमा खण्डीकृत हुनेगरी देशमा बसोबास गर्नेको सङ्ख्या कति छ र उनीहरुको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावनाहरु, र आर्थिक तथा सामाजिक अवस्थालगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेमा विस्तृत विवरण सङ्कलन हुने कुरा सुनिश्चित गर्नेछ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क देशभरीको अवस्था बुझ्न, विकासका आवश्यकता, र विद्यालयदेखि स्वास्थ्य सेवा र सडकसम्म कहाँ र कसरी लगानी गर्ने भन्नेबारेमा निर्णय लिन नीति निर्माता र योजनाकारहरुलाई बहुमुल्य हुनेछ । 

राष्ट्रिय जनगणना २०७८ लाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप आयोजना गर्न र संकलन भएको तथ्याङ्क पछाडि छाडिने जोखिममा रहेका व्यक्तिहरुको जीवनमा सुधार ल्याउन र उनीहरुको अधिकार सुनिश्चित गर्न उपयोग गरिने कुरा सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ । “सरकारको मार्गनिर्देशन अनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्याङ्क अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं,” केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भन्नुभयो । राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ । 

सो सूचना प्रविधि उपकरणले विभागको पूर्वाधार र क्षमतालाई सुदृढ तुल्याउँदै तथ्याङ्क संकलनको बहुविधि अवधारणामार्फत जनगणना कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने विभागको प्रयासलाई बल पुर्‍याउने काम गर्ने विश्वास लिइएको छ । 

भरपर्दो र सामयिक तथ्याङ्क नेपालको दिगो र समावेशी विकासको आधार हो भन्ने मान्यता राख्दै राष्ट्रिय जनगणना २०७८ को आयोजना गर्न नेपाल सरकारलाई यूएनएफपिएले सहयोग उपलब्ध गराइरहेको छ । “गणना तथ्याङ्कक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको सङ्ख्यात्मक विवरण प्रदान गर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमुल्य हुन्छ । गणना उच्चगुणस्तरको भएको, अन्तर्राष्ट्रिय मापदण्डलाई स्थापित गरेको र विकासका प्रतिफलहरुका लागि व्यापक रुपमा प्रचारप्रसार तथा उपयोग गरिने तथ्याङ्क उत्पादन भएको सुनिश्चित गर्न नेपाल सरकारलाई प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्न पाउँदा यूएनएफपिएले गौरवान्वित भएको छ”, नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो ।

“नेपाललाई संयुक्त अधिराज्य (युके)ले प्रदान गर्ने सहयोग भरपर्दो र सबैलाई समावेश गर्ने तथ्याङ्कमा आधारित हुनेतर्फ लक्षित हुनेगर्छ । जनगणना तथ्याङ्क संकलन तथा संग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो जसको आधारमा सरकार देखि विकास साझेदार र समुदायमा आधारित संघसंस्था सबैले आफ्नो सहयोगलाई सही ढंगबाट निर्देशित गर्नसक्छन् । त्यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्नेछ । हाम्रा साझेदार यूएनएफपिए र केन्द्रिय तथ्याङ्क विभागमार्फत यसरी उपकरण तथा प्रविधि उपलब्ध गराउन संयुक्त अधिराज्य सक्षम भएकोमा म खुशी छु,” काठमाडौंस्थित बेलायती दुतावासकी विकास निर्देशक लिसा होनानले भन्नुभयो । 

+++++++++

थप जानकारीका लागि :

दीनानाथ लम्साल, तथ्याङ्क अधिकृत, केन्द्रिय तथ्याङ्क विभाग, dnlamsal@gmail.com  

सन्तोष क्षेत्री, पैरवी तथा सञ्चार विशेषज्ञ, यूएनएफपिए नेपाल, schhetri@unfpa.org वा ९८०१०–५६०२८