You are here

लाखौं महिला तथा किशोरीहरू लाभान्वित हुने आर्थिक सहायतालाई पुनःस्थापित गर्ने अमेरिकी सरकारको चाहाना यूएनएफपिद्वारा स्वागत  

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले यौन तथा प्रजनन् स्वास्थ्य हेर्ने राष्ट्रसङ्घीय निकाय यूएनएफपिएका लागि अमेरिकी सरकारको सहयोगलाई पुनःस्थापित गर्ने आफ्नो इच्छा जाहेर गर्नुभएको छ । अमेरिका यूएनएफपिएको संस्थापक सदस्य हो, र यसको सञ्चालक निकायमा प्रतिनिधित्व रहेको भएपनि विगत चार बर्ष यसले संस्थाका लागि कुनै आर्थिक सहयोग उपलब्ध गराएन । 

एक वक्तव्य मार्फत राष्ट्रपति बाइडेनले आफ्नो सरकारले “देशभित्र र विश्वभरीका महिलाले आफ्नो प्रजनन स्वस्थ्यसहित सम्पूर्ण स्वास्थ्य सूचनामा पहुँच प्राप्त गर्न सक्षम भएको सुनिश्चित गर्न कदम चाल्ने” उल्लेख गर्नुभएको छ ।

जीवनरक्षक मातृस्वास्थ्य सेवा, परिवार नियोजन सेवा र महिला तथा किशोरीविरुद्धका हिंसा अन्त्य गर्ने कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध हुने यो कदमको विश्वभरीका महिला र किशोरीमाथि उल्लेखनीय प्रभाव पर्न जानेछ । बढ्दो द्वन्द्व, प्राकृतिक प्रकोपको जोखिम, र कोभिड–१९ को परिप्रेक्षमा मानवीय सहयोगको आवश्यकता बढिरहेको अवस्थामा यो कदम ज्यादै महत्वपूर्ण समयमा आउन पुगेको छ । कोभिड–१९ को संकटले निम्त्याएको अवरोधका कारणले मात्र पनि लाखौं महिलाले परिवार नियोजनका साधनमा पहुँच गुमाउने, हिंसा, बालविवाह वा महिला जननेन्द्रिय छेद्नको सामना गर्नुपर्ने यूएनएफपिएले यस अघि प्रक्षेपण गरेको थियो ।

“यो चुनौतीपूर्ण समयमा यूएनएफपिएको मुख्य दाताका रुपमा अमेरिकाको फिर्तीले संकटापन्न अवस्थामा रहेका सबै महिला तथा किशोरीका लागि आशाको सन्देश दिने काम गर्छ । कोभिड–१९ ले दशकौंको कडा मिहनेतले हासिल गरेको प्रगतिलाई जोखिममा धकेलिदिएको छ । हाम्रा सबै साझेदारसँगै मिलेर हामीले अझ राम्रो र बलियो पुनर्निर्माण गर्दै मातृमुत्यु तथा महिला विरुद्धको हिंसालाई अन्त्य गर्नुका साथै परिवार नियोजन उपलब्ध बनाउन हामी सक्षम हुनेछौं भन्ने कुरामा म विश्वास गर्छु । यी प्रयासमा पुनःसहभागी हुने अमेरिकाको प्रतिबद्धताको म स्वागत गर्दछु,” यूएनएफपिएकी कार्यकारी निर्देशक डा नाटालिया कानेमले भन्नुभयो । 

सन् २०१६ मा अमेरिकाले यूएनएफपिएलाई विकास र मानवीय दुवै परिस्थितिमा यसले गर्ने कामको सहयोगका लागि ६ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो । यदि यस्तै सहयोग पुनःप्राप्त हुने हो भने, एक वर्षको अन्तरालमा निम्नि प्रगति हासिल गर्न सकिनेछ :

  • १४ लाख अनिच्छित गर्भ रोकथाम गर्न सकिन्छ
  • ३२ हजार असुरक्षित गर्भपतन रोकथाम गर्न सकिन्छ
  • ४२ लाख महिला र युवायुवतीको पहुँचमा एकीकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा हुन सक्नेछ 
  • ६ लाख ४० हजार यौनजन्य संक्रमण निवारण गर्न सकिन्छ 
  • ७६ हजार हिंसा प्रभावित महिला तथा किशोरीले परामर्श र स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने छन् 

यससँगै यूएनएफपिएलाई सहयोग उपलब्ध गराउने संयुक्त राष्ट्रसङ्घका करिव १०० सदस्य राष्ट्रको समूहमा अमेरिकाको पुनः प्रवेश भएको छ । यो कदमको अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिका साथै सरकार, नागरिक समाज र निजी क्षेत्रबाट पनि स्वागत भएको छ । अमेरिकामा यूएनएफपिएका लागि व्यापक जनसमर्थन प्राप्त हुने गरेको छ । सन् २०१९ मा यूएनएफपिएका लागि आर्थिक सहयोग पुनःस्थापना गर्ने कानुनलाई कंग्रेसका १२५ जना सदस्यले प्रस्ताव गरेका थिए, जसलाई ८० वटा नागरिक समाजका संस्थाले पनि अनुमोदन गरेका थिए ।

“यूएनएफपिए र अमेरिकी सरकारबीच सुदृढ साझेदारीको नवीकरण विश्वभरी सहयोगको खाँचो रहेका लाखौं व्यक्तिका लागि आशाको दियो हो । गर्भवती महिलाको घर देखि युद्धभूमिको भग्नावशेषसम्म यूएनएफपिए महिला र किशोरीका लागि सङ्घर्षरत छ,” यूएनएफपिएकी कार्यकारी निर्देशक डा नाटालिया कानेमले उल्लेख गर्नुभयो । 

यूएनएफपिएका लागि अमेरिकी सहयोगमार्फत अमेरिकी जनताले पनि १५० भन्दा देशका महिला तथा किशोरीको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नेछन्, जहाँ प्रायः अमेरिकी सरकारी निकायले परिवार नियोजन वा प्रजनन स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गर्दैनन् वा जहाँ सुरक्षाका कारण अमेरिकी कर्मचारीहरू कार्यरत छैनन् ।

राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र अमेरिकी जनतासँग मिलेर हरेक गर्भ इच्छित हुने, हरेक बच्चाको जन्म सुरक्षित हुने र हरेक युवाको पूर्ण क्षमताका साथ अघि बढ्न सक्ने विश्वको निर्माणमा सहकार्य गर्न यूएनएफपिए इच्छुक छ ।

प्रेस विज्ञप्तिको अंग्रेजी संस्करणका लागि यहाँ हेर्नुहोस् : http://bit.ly/36mWRn2

+++++++
थप जानकारीका लागि
इडी राइट, यूएनएफपिए सञ्चार विशेषज्ञ ंज्ञ ढज्ञठ डघज्ञ द्दण्ठद्ध भधचष्नजत२गलाउब।यचन

यूएनएफपिएका बारेमा
यूएनएफपिए यौन तथा प्रजनन स्वस्थ्य हेर्ने राष्ट्रसङ्घीय निकाय हो । यसको मूल ध्येय यस्तो विश्वको निर्माण गर्नु हो जहाँ हरेक गर्भ इच्छित होस्, हरेक बच्चाको जन्म सुरक्षित होस् र हरेक युवा आफ्नो पूर्ण क्षमताका साथ अघि बढ्ने अवस्था सृजना होस् । सबैका लागि प्रजनन स्वाथ्यको अधिकार साकार पार्न आह्वान गर्दै यूएनएफपिएले स्वेच्छिक परिवार नियोजन, गुणस्तरीय मातृस्वास्थ्य सेवा र बृहत यौनिकता शिक्षासहित विविध प्रकारका यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच पु¥याउने कार्यमा सहयोग गर्दछ ।