काठमाडौं/बैंकक/नयाँ दिल्ली, ४ चैत्र २०७७ : दक्षिण एशियामा कोभिड–१९ का कारण अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता एवं प्रयोगमा व्यापक कमी आउँदा करीब २,२८,००० थप बाल मृत्यु तथा ११,००० मातृ मृत्यु भएको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले गरेको छ ।
कोभिड–१९ नियन्त्रण गर्न लागिपरिरहेको दक्षिण एशियामा महामारी कारण थुप्रै स्वास्थ्य संस्थाहरू बन्द हुनुका साथै स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि अवरुद्ध हुन पुगेका छन् । २०२० को अन्त्यसम्ममा यस क्षेत्रमा १ करोड १० लाख कोभिड–१९ बिरामी देखिएका थिए ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को सहकार्यमा युनिसेफले तयार पारेको उक्त प्रतिवेदनमा स्वास्थ्य सेवामा भएका गम्भीर अवरोधका उदाहरणहरू प्रस्तुत गरिएको छ । ती उदाहरणहरूमा नेपाल र बंगलादेशमा चरम प्रकारको कुपोषण सम्बन्धी सेवा प्राप्त गरिरहेका बालबालिकाको संख्या ८० प्रतिशतले घटेको तथा भारत र पाकिस्तानमा खोप प्राप्त गर्ने बालबालिकाको संख्यामा व्यापक कमी भएको पनि पर्दछन् ।
“यी अत्यावश्यक सेवामा आएको कमीले चरम गरिबीमा बाँचिरहेका परिवारको स्वास्थ्य र पोषणमा अत्यन्तै ठूलो प्रभाव पारेको छ,̕” दक्षिण एशियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लार्येए–जेईले भन्नुभयो । “बालबालिका तथा आमाको लागि ती सेवा पूर्ण रूपमा सुचारु गर्नु र सुरक्षित रुपमा सेवा लिनका लागि सबै मानिसलाई आश्वस्त बनाउन हरसम्भव प्रयास गर्नु एकदमै महत्वपूर्ण छ ।“
गर्भवती महिला, किशोर–किशोरी तथा शिशुका लागि स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्न आह्वान गर्दै प्रतिवेदनले खोपका साथै उनीहरूका लागि अत्यावश्यक औषधि ढुवानीको लागि आपूर्ति सन्जाललाई सुदृढ बनाउनु पर्ने आवश्यकता पनि औंल्याएको छ।
“अत्यावश्यक स्वास्थ्य सेवा सुचारु राख्नु विश्व स्वास्थ्य संगठनको कोभिड–१९ विरुद्धको प्रतिकार्य अन्तर्गतको महत्वपूर्ण रणनीति हो,̕” दक्षिण पूर्वी एशियाको लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भन्नुभयो । “यस्ता अवरोधले रोकथामबाट बच्न सकिने रोगकै कारणले समेत मानिसहरूले ज्यान गुमाउने जोखिम बढ्ने हुँदा यस क्षेत्रका देशहरू त्यस प्रकारका सेवा सुचारु एवं पुनर्स्थापना गर्नका लागि कार्यरत छन् ।“
महामारी नियन्त्रणका लागि लागु गरिएका सावधानीका उपायहरूका कारण दक्षिण एशियामा करीब ४२ करोड बालबालिका विद्यालय जानबाट वन्चित भएका छन्। त्यस मध्ये ४५ लाख बालिका तथा किशोरीहरू फेरि कहिल्यै पनि विद्यालय नजाने जोखिममा रहेको चेतावनी दिँदै प्रतिवेदनले यौन तथा प्रजनन स्वास्थ्य सूचना तथा सेवामा उनीहरूको पहुँच धेरै नै कम हुन सक्ने उल्लेख गरेको छ।
“दक्षिण एशियाको सांस्कृतिक एवं सामाजिक परिवेशलाई हेर्दा, यी अत्वाश्यक सेवाहरूमा आएको अवरोधले असमानता बढाएको र मातृ तथा नवजात शिशु मृत्युको संख्यामा वृद्धि गराएको हुन सक्छ,” एशिया प्रशान्त क्षेत्रको लागि यूएनएफपिएका क्षेत्रीय निर्देशक वियोन एन्डरसनले भन्नुभयो । “साथै, यस क्षेत्रमा थप ३५ लाख महिलाले अनिश्चित गर्भधारण भोग्न सक्ने सम्भावना पनि रहेको छ ।“
दक्षिण एशियामा सबैभन्दा धेरै जनसंख्या भएका ६ वटा देश (अफगानिस्तान, बंगलादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलंका) मा केन्द्रित रहँदै प्रतिवेदनले महामारीका कारण बेरोजगारी, गरिबी तथा खाद्य असुरक्षामा वृद्धि हुन पुगेकोले जनस्वास्थ्यको महत्व तर्फ कम ध्यान गएको कुरा उल्लेख गरेको छ ।
चरम गरिबीमा रहेका परिवारको लागि नगद सहयोग गर्न आह्वान गर्दै प्रतिवेदनले महामारीको सुरुवातसँगै विभिन्न देशहरूले घोषणा गरेका सामाजिक सुरक्षा कार्यक्रमको प्रशंसा गरेको छ। यद्यपि, ती कार्यक्रमको पूर्ण प्रभावको मुल्यांकन भने गरिनु आवश्यक छ।
####
सम्पादकको लागि नोट:
श्रव्य दृश्य सामग्री यहाँ डाउनलोड गर्न सक्नुहुन्छ।
विश्व स्वास्थ्य संगठनको बारेमा
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयको कार्यक्षेत्रमा विश्वको कूल जनसंख्याको एक चौथाई मानिस बसोबास गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने करिब २ अर्ब मानिसको जीवन अझ सहज र स्वस्थ तुल्याउन प्रतिबद्ध विश्व स्वास्थ्य संगठनले यस अघि देखि नै व्याप्त र हाल देखिने क्रममा रहेका सरुवा रोग तथा जनसंख्या सम्बन्धी चुनौतीहरू सम्बोधन गर्न ११ वटा सदस्य राष्ट्रसँग गरिरहेको सहकार्य अन्तर्गत प्राथमिकता प्राप्त आठ वटा प्रमुख कार्यक्रमहरू हाल कार्यान्वयनको क्रममा रहेका छन् । ती हुन् मातृ मृत्यु, ५ वर्ष मुनिका बालबालिका तथा शिशु मृत्युदर कम गर्ने; दादुरा र रुबेला उन्मुलन; नसर्ने रोगहरूको रोकथाम; स्वास्थ्य तथा अत्यावश्यक औषधिका लागि आवश्यक मानव संसाधनमा केन्द्रित विश्वव्यापी स्वास्थ्य सुरक्षण; सुक्ष्मजीवको प्रतिरोधसँग जुध्ने; आपतकालीन जोखिम व्यवस्थापनका लागि क्षमता अभिवृद्वि; वेवास्ता गरिएका ट्रपिकल रोगहरूको उन्मुलन गर्ने, र क्षयरोग उन्मुलनका लागि तीव्र गतिमा काम गर्ने।
यूएनएफपिएको बारेमा
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) मातृ मृत्यु, परिवार नियोजनका साधनको अभाव, र महिला तथा किशोरीहरू विरुद्धको लैंगिक हिंसा तथा हानिकारक अभ्यासहरूको अन्त्यको लागि १५० भन्दा बढी देशमा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत राष्ट्रसंघीय निकाय हो । यूएनएफपिएको कार्यादेश सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले तय गरेको कार्यक्रमले मार्गनिर्देश गरेको लैंगिक समानता र मानव अधिकारमा आधारित रहेको छ । यूएनएफपिए एशिया प्रशान्त क्षेत्रीय कार्यालय अन्तर्गत एशियाका २२ तथा प्रशान्त क्षेत्रका १४ देश समावेश छन् । कोभिड-१९ विरुद्धको प्रतिकार्य सम्बन्धमा थप जानकारी हाम्रो वेबसाइट www.unfpa.org/COVID19 मा हेर्न सक्नुहुन्छ।
Twitter, Facebook र Instagram मा हाम्रो एशिया प्रशान्त क्षेत्रीय कार्यालयलाई फलो गर्नुहोस्।
हाम्रो श्रव्य दृश्य पहल "आईसिपिडिका मानिसहरू" (Humans of ICPD) सँग Facebook र Instagram मा जोडिनुहोस्।
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबैभन्दा सीमान्तीकृत बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसको लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाको लागि हरेक ठाउँमा काम गर्छौं ।
युनिसेफ दक्षिण एसिया क्षेत्रीय कार्यालय (रोजा)ले ८ वटा देशमा रहेका युनिसेफ कार्यालयहरूसँगको सहकार्यमा बालबालिकाको जीवन बचाउन, उनीहरूको अधिकार रक्षा गर्न, र उनीहरूमा रहेका सम्भाव्यता पूरा गर्नको लागि सहयोग गर्दछ ।
दक्षिण एशियाका बालबालिकाका लागि युनिसेफले गरिरहेको कामको बारेमा थप जानकारी लागि www.unicef.org/rosa मा हेर्नुहोस् ।
Twitter र Facebook मा हामीलाई फलो गर्नुहोस्।
कोभिड-१९ को बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।
सञ्चार माध्यमको जिज्ञासाका लागि :
- एलिन लुठी, क्षेत्रीय सञ्चार प्रमुख, युनिसेफ दक्षिण एशिया क्षेत्रीय कार्यालय, eluthi@unicef.org, +977 98010 30076
- रोय वाडिया, क्षेत्रीय सञ्चार सल्लाहकार, यूएनएफपिए एशिया-प्रशान्त क्षेत्रीय कार्यालय, wadia@unfpa.org, +66 (0) 84 875 2634
- शमिला शर्मा, सन्चार तथा पैरवी अधिकृत, विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालय, sharmasha@who.int, +91 98182 87256