भू–धरातलीय बनावटको कारण प्रत्येक वर्ष नेपालका विभिन्न भूभागमा प्राकृतिक प्रकोपका घटनाहरू जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी, हुरीबतास, असिना वर्षा, खडेरी, अनिकाल तथा महामारी आदि भइरहेका छन् जसबाट ठूलो धनजनको क्षति भएको पाइन्छ । २०७१ श्रावण २८ र २९ गते गएको मध्यपश्चिमको बाढी तथा पहिरोमा परी २६५ जनाको मृत्यु भएको थियो । त्यसै गरी २०७२ बैसाख १२ को भूकम्प र त्यसपछि गएका विभिन्न परकम्पनले राष्ट्रका अधिकांश जिल्ला प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुनुका साथै लाखौं मानिसहरू घरबारविहीन भएका थिए । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङकअनुसार भूकम्पबाट ८,८९१ जनाको मृत्यु भएको थियो भने घाइतेको सङ्ख्या २२,३०२ र प्रभावित परिवारको सङ्ख्या ८,८६,४५६ रहेको थियो । यस्ता प्राकृतिक प्रकोप तथा द्वन्द्वमा बढी प्रभावित हुने तथा जोखिममा रहेका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सङ्कटासन्न समूहमा परेको पाइन्छ । विकास प्रक्रिया तथा जोखिम न्यूनीकरण कार्यक्रममा सङ्कटासन्न समूहलाई लक्षित तथा मूलप्रवाहीकरण गर्न नसक्दा यस्ता समूहहरू बढी जोखिममा रहेको पाइएको छ । यस्ता जोखिमका असरलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य गर्ने क्रममा उक्त सङ्कटासन्न समूहका संरक्षणसम्बन्धी मुद्दाहरूमा नीतिगत, संस्थागत तथा कार्यगत व्यवस्था हुनु आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै महिला, बालबालिका तथा समाज कल्याण क्षेत्रमा संरक्षण समूहको भूमिका तथा जिम्मेवारी अझ प्रभावकारी बनाउंन यो रणनीतिक कार्ययोजना तयार गरिएको छ ।