You are here

काठमाडौं, जेठ ७ गते २०७८ -- कोभिड–१९ महामारीकाबीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरेका छन् । नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको यस योजनालाई नेपाल ह्यूमानिटेरियन कन्ट्रीटीम र नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको छ ।

नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले भन्नुभयो,“अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रहरुमाथि विनाशकारी प्रभाव पारिरहेको छ, र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तीकृत व्यक्तिहरु बढी प्रभावित हुनपुगेका छन् । आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोली र आउँदा केही कठिन हप्ताहरुमा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय एक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्न सक्दैनौं ।”

तुलनात्मक रुपमा केही महिनाको न्यून दैनिक नयाँ सङ्क्रमणपछि नेपालमा बैशाखको पहिलो हप्ताबाट सङ्क्रमण सङ्ख्या द्रुत गतिबाट बढ्दै चैत्र महिनाको मध्यमा दैनिक १५० बाट बैशाख २२ गतेदेखि हरेक दिन ८ हजार भन्दा बढी नयाँ सङ्क्रमण देखापरिरहेको छ । देशव्यापी रुपमा गरिएको कोभिड–१९ परीक्षणमा ४५ % भन्दा बढी पोजिटिभ परिणाम आइरहेको छ, जसले सङ्क्रमणको सङ्ख्या सार्वजनिक भएको भन्दा बढी रहेकोतर्फ संकेत गर्दछ । भारतमा देखिएको बढोत्तरीको झण्डै तीन हप्तापछि नेपालमा सङ्क्रमण बढ्न थालेको भएपनि यहाँको दैनिक प्रतिव्यक्ति सङ्क्रमण दर भारत बराबर नै रहेको छ, तर नेपालको स्वास्थ्य प्रणालीको क्षमता तुलनात्मक रुपमा सीमित रहेको अवस्था छ ।

नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डा राजेश सामभाजीराव पाण्डवले भन्नुभयो, “नयाँ सङ्क्रमणमा देखिएको हालैको लहरले अक्सिजन, औषधि, भेन्टिलेटर, परीक्षण कीट र खोपलगायतका स्वास्थ्य सामग्रीका लागि अप्रत्यासित माग निम्त्याएको छ । ठोस प्रतिकार्य लागु गर्ने नेपाल सरकारको प्रयासहरुलाई डब्लुएचओ र साझेदारहरुले सहयोग गरिरहेको भएपनि यो महामारी विरुद्ध लड्न अन्तराष्ट्रिय एक्यवद्धताको खाँचो छ । विश्वभरी रहेका नेपालका मित्रहरुलाई अहिलको आवश्यकता पूरा गर्नका लागि सहयोगको हात अघि बढाउन म अपिल गर्दछु ।”

नेपालमा लाखौं व्यक्तिहरु कोभिड–१९ को प्रत्यक्ष स्वास्थ्य प्रभावबाट मात्र नभई भोकमरी, कुपोषण, विनाशकारी आर्थिक क्षतिबाट पनि प्रभावित हुनाका साथै स्वास्थ्यसम्बन्धी अन्य आवश्यकताहरु पूरा गर्न सङ्घर्षरत छन्, जसप्रति कसैको ध्यान जान सकेको छैन । नेपाल कोभिड–१९ प्रतिकार्य योजनाले कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य योजना (सिपिआरपी)मा उल्लेख भएअनुसार कोभिड–१९ ले निम्त्याएको स्वास्थ्य र मानवीय परिणाम दुवैलाई सम्बोधन गर्ने प्राथमिकतापूर्ण प्रतिकार्यका क्रियाकलापहरु प्रस्तुत गर्दछ । नेपाल सरकारले प्रतिकार्यको नेतृत्व गरिरहेको छ तर क्षमता अधिकतम विन्दुमा पुगिसकेको छ र त्यसकारण स्वास्थ्य, खाद्यान्न, सुरक्षा, शिक्षा, पोषण, आवास, संरक्षण, खानेपानी र सरसफाइको क्षेत्रमा जीवनरक्षक प्रतिकार्य क्रियाकलापहरुमार्फत सबैभन्दा संकटासन्न व्यक्तिहरुलाई मद्दत गर्न अन्तर्राष्ट्रिय एक्यबद्धताको तत्काल आवश्यक छ ।

नेपालस्थित राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)की प्रतिनिधि एल्के विस्चले भन्नुभयो, “नेपालले कोभिड–१९ को डरलाग्दो नयाँ लहरको सामना गरिरहेको छ, र द्रुत गतिमा बढिरहेको सङ्क्रमणको संख्याले नेपालको कमजोर स्वास्थ्य प्रणालीमाथि अत्यधिक भार थपिदिएको छ । जीवन बचाउन तत्कालको स्वास्थ्य संकटलाई हामीले सम्बोधन गर्दैगर्दा कोभिड–१९ को पछिल्लो लहरले नेपालका बालबालिका र युवाहरुमाथि पारेको विनाशकारी व्यापक प्रभावलाई हामीले बिर्सन सक्दैनौं । उनीहरु महत्वपूर्ण सहयोगी सञ्जालबाट टाढा हुँदैछन्, अभिभावक र हेरचाहकर्ताहरु गुमाउँदैछन् र कुनै पनि बालबालिकाले कदापि देख्नु नहुने दृश्यहरु देखिरहेका छन् । नेपालमा अवरुद्ध बाल्यपनलाई सदाका लागि गुमाउनबाट रोक्ने हो भने हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एक ठाउँमा उभिनै पर्छ ।”

***

नेपाल कोभिड–१९ प्रतिकार्य योजना यहाँबाट डाउलोड गर्न सकिन्छ : https://un.org.np/resource/covid-19-response-plan-nepal-may-2021

 

थप जानकारीका लागि सम्पर्क :

आवासीय संयोजकको कार्यालय (आरसिओ) नेपाल– रामबाबु शाह, shah2@un.org , +९७७ ९८०१००२००४

युनिसेफ नेपाल– तानिया धाख्वा, tdhakhwa@unicef.org    ९८०१२४४५२४

डब्लुएचओ नेपाल– छिरिङ् डोल्कर गुरुङ्,  gurungt@who.int , +९७७ ९८०१०५४०४०

ओचा एसिया प्रशान्त– पिय पेराँे,  peronp@un.org , ं६६ ६१४२००३९०