You are here

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) ले कोरोना भाइरस रोग (कोभिड–१९) को प्रकोप सम्बोधन गर्न सरकार, राष्ट्रसङ्घीय निकायहरु र साझेदार संस्थाहरुसँग मिलेर नजिकबाट अनुगमन गरिरहेको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ । 

प्रजनन उमेरका र गर्भवती महिलालाई सङ्क्रमणबारे सावधानी, सम्भावित जोखिम र समयमै स्वास्थ्य सेवा कसरी लिने भन्नेबारेमा सही जानकारी प्रदान गर्ने कुरा सुनिश्चित गर्न युएनएफपीएले काम गरिरहेको छ । “कारोना भाइरस सम्बन्धमा भय र अनिश्चितता स्वभाविक भएकाले हामी तथ्य र ठोस जानकारीबाट निर्देशित हुनुपर्दछ”, युएनएफपीए कार्यकारी निर्देशक डा. नतालिया कनेमले भन्नुहुन्छ । 

“हामी सामूहिक एक्येबद्धताका साथ उभिनै पर्दछ, कलङ्क र भेदभावको विरूद्ध लड्नैपर्छ र सर्वसाधारण विशेष गरी गर्भवती र स्तनपान गराईरहेका महिलाले आवश्यक जानकारी एवं सेवा प्राप्त गर्नु पर्दछ”, उहाँ भन्नुहुन्छ । 

महामारीको समयमा यौन तथा प्रजनन् स्वास्थ्य एक महत्वपूर्ण जनस्वास्थ्यको सरोकार हुनाले विद्यमान स्वास्थ्य प्रणालीको सञ्चालन अवस्था र सङ्क्रमण सर्न नदिन अपनाउने सावधानीको कडा पालनामा सुरक्षित गर्भावस्था र शिशुजन्म निर्भर गर्दछ ।

कोभिड–१९ ले गर्भवती महिलामा विशेष चिन्ता बढाउनसक्ने भएकाले युएनएफपीए यस समूहको जोखिमता, रोकथामका उपाय र सिफारिस गरिएका सहयोगी उपचारपद्धति जानकारी गराउन चाहन्छ ।

आजसम्म गर्भवती महिलामा कोभिड–१९ को बढ्दो संवेदनशीलताका बारेमा कुनै वैज्ञानिक प्रमाण छैन यद्यपि, गर्भावस्थाले विभिन्न शारीरिक परिवर्तन ल्याउने भएकाले केही गर्भवती महिलालाई भाइरल श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणले बढी संवेदनशील बनाउन सक्छ । 

गर्भावस्था जोखिमको अवस्था भएकाले श्वासप्रश्वासको समस्या भएका महिलालाई अत्यधिक प्राथमिकताका साथ उपचार गर्नुपर्छ । सङ्क्रमणबाट बच्न सबैले पालना गर्नुपर्ने रोकथामका उपाय गर्भवती महिलाले पनि पालना गर्नुपर्दछ । ती उपायमा रुघाखोकी लागेको जोकोही व्यक्तिबाट टाढा बस्ने, साबुन पानीले हात धुने, खोक्दा वा हाँछ्यु गर्दा टिस्यु पेपर वा कुहिनाले मुख र नाक ढाक्ने र मासु तथा अण्डा राम्ररी पकाएर मात्र खाने आदि पर्दछन् । 
 
यस सम्बन्धमा पालना गर्नुपर्ने सबै कुराहरु विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा उपलब्ध छन् । कोरोना भाइरस निको पार्ने उपचार वा रोकथामका लागि खोप अहिलेसम्म पाइएको छैन तर लक्षणका आधारमा उपचार विधी सिफारिस गरिएका छन् । कोभिड–१९ सङ्क्रमणको शङ्का वा पुष्टि भएका गर्भवती महिलालाई उनीहरुको गर्भजाँचमा संलग्न स्वास्थ्यकर्मीसँग परामर्श लिएर मात्र विश्व स्वास्थ्य सङ्गठनले बिरामीका लागि सिफारिस गरेको थेरापी प्रदान गरिनु पर्दछ ।
 
युनिसेफका अनुसार, श्वासप्रश्वासको भाइरस स्तनपानमार्फत सर्न सक्छ भन्ने कुराको कुनै प्रमाण नभएकाले स्तनपान गराउने महिलालाई आफ्नो नवजात शिशुबाट अलग गरिनु हुदैन । तल दिइएका आवश्यक सावधानी अपनाएर सुत्केरीले स्तनपान गराउन सक्दछन् ।

  • कोरोना भाइरसको लक्षण देखिएका स्तनपान गराउने महिलाले बच्चा नजिकै रहँदा मास्क लगाउनुपर्छ (स्तनपान गराउँदा समेत), बच्चासँगको सम्पर्क अघि र पछाडि हात धुनुपर्छ (खुवाउँदा समेत), फोहर र दूषित स्थान सफा गरी किटाणुरहित बनाउनु पर्दछ ।
  • यदि स्तनपान गराउने कुनै महिला अस्वस्थ भएमा आवश्यक सावधानी जस्तै मास्क लगाएर सफा कचौरा र चम्चाका माध्यमबाट बच्चालाई दूध खुवाउन सकिन्छ, बच्चासँगको सम्पर्क अगाडि र पछाडि हात धुनु पर्दछ, फोहर र दूषित स्थान सफा गरी किटाणुरहित बनाउन पर्दछ भन्ने कुरा प्रोत्साहन गर्नु पर्दछ ।

कोरोना भाइरसबाट प्रभावित व्यक्ति, परिवार, समुदाय र स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्य र मनोवैज्ञानिक सहयोगको प्रावधान प्रतिकार्यको महत्वपूर्ण पक्ष हो । युएनएफपीए प्रभावित समुदाय, विशेष गरी जोखिममा रहेका महिला र किशोरीको साथमा उभिएको छ । यस्ता सङ्कटासन्न महिला र किशोरीको सुरक्षा र स्वास्थ्य आवश्यकता प्रतिकार्य प्रयासको केन्द्रमा हुनुपर्दछ ।

सरकार, साझेदार निकाय र समुदायसँग मिलेर महामारी रोकथाम र प्रतिकार्यका लागि युएनएफपीएले आफ्नो आन्तरिक तयारीको काम गरिरहेको छ ।
 

STATEMENT IN ENGLISH: https://nepal.unfpa.org/en/news/covid-19-and-pregnancy-unfpas-statement-0